Banner News

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उमेदवार बनेँ : प्रचण्ड



काठमाडौँ, १६ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा गणतन्त्रको घोषणा गर्ने थलोका रूपमा रहेको रुकुम पूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उमेदवार बनेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले रुकुम पूर्व नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उनले उल्लेख गरे । पूर्वी रुकुमको चुनबाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको उनले बताए ।

उनले भने, ‘रुकुम पूर्वको विशेषता के छ भने पूर्वी रुकुम नै त्यस्तो जिल्ला हो, जहाँबाट नेपालमा गणतन्त्र अब कसैले रोक्न सक्दैन भनेर निष्कर्ष निकालिएको थियो र त्यो घोषणा गरिएको थियो । रुकुमको चुनबाङ बैठक । तपाईं हामी सबैलाई गर्व छ, चुनबाङप्रति । त्यो चुनबाङ खालि नेपालमा मात्रै परिचित छैन, त्यसले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खोलेको हो, चुनबाङ बैठकले । त्यो संसारभरि पनि परिचित छ । जहाँबाट महिला, जनजाति, मधेसी, थारूलगायत सबै उत्पीडित समुदायको लागि समावेशी र पहिचानसहित अधिकार दिने गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल पुर्‍याउने उद्घोष गरिएको थियो । रुकुम पूर्व त्यस्तो जिल्ला पनि हो, जहाँ हाम्रो पार्टीभित्र त्यति बेला चलेको विचारधारात्मक संघर्ष, निकै ठूलो बहस चलेको थियो । त्यो बैठक पनि हाम्रो पार्टीले इतिहासमा एउटा अविस्मरणीय बैठक भयो, त्यसलाई हामी लवाङ बैठक भन्छौँ । देश खासगरी जेनजी आन्दोलन भदौ २३ को र २४ को विध्वंसपछि असाधारण जटिल परिस्थितिबाट गुज्रिएको छ । राष्ट्र निकै ठूलो अप्ठ्यारोमा छ । त्यसकारण राष्ट्रलाई एकताबद्ध गर्ने, अनि आन्दोलनलाई एउटा नयाँ उचाइ दिने र देशभरि समाजवाद निर्माणको एउटा नयाँ सन्देश दिने उपयुक्त थलो कुन हुनसक्छ भन्दा हाम्रो पार्टीले र मैले रुकुम पूर्व नै त्यस्तो ठाउँ हो, हुनसक्छ भनेर आएँ । किनकि, रोल्पामा म पहिले नै चुनाव लडिसकेको थिएँ ।‘