Banner News

दलका घोषणापत्रमा आर्थिक मुद्दा कहिल्यै प्राथमिकतामा परेनन् : अध्यक्ष ढकाल



काठमाडौँ, १८ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूका घोषणापत्रमा कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा नपरेको गुनासो गरेका छन् । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

उनले अन्य राजनीतिक पार्टीलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउन नहुने उल्लेख गर्दै राजनीतिक दल आफ्ना आर्थिक एजेन्डा स्थापित हुनुपर्ने बताए । 

“राजनीतिक दलका नेताले अर्को दललाई नराम्रो देखाउने प्रचलन छ । आफ्ना एजेन्डा स्थापित गर्नतर्फ कोही लाग्दैनन्,” ढकालले भने । 

निजी क्षेत्रप्रति राजनीतिक दलको धारणा नकारात्मक हुने गरेकाले पनि विभिन्न समयमा त्यसको असर भोग्नुपरेको ढकालको भनाइ थियो । “निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिका नेतृत्व र दलबाट हुन सकेको छैन । रोजगारी सृजनाका कुरा, कर तिरेका कुरा किन चर्चा हुँदैन ?” उनले भने, “मन्त्रालय मन्त्रालयबीच समन्वय छैन । डिसिजन गर्दा पपुलारिजम खोज्ने गरेका छन् । राज्यलाई क्षति हुने नै भए पनि चर्चा बटुल्न जस्ता पनि निर्णय गर्ने प्रचलन बढेको छ ।”