राजनीति

माओवादीले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धता



काठमाडौँ, १८ माघ । नेकपा(माओवादी)ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गरी माओवादीले २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । 

कार्यक्रममा महासचिव नेत्रविक्रम चन्द विप्लवले नव–युवा पुस्ताको विद्रोहपछि मुलुकमा नितान्त फरक र नयाँ परिस्थितिमा प्रतिनिधि सभाको निर्वाचन हुन गइरहेकाले निर्वाचनमा नयाँ प्रस्ताव, नयाँ उद्देश्य, नयाँ शक्तिहरूसहित हुने बताएका छन् । 

१२ वर्षपछि पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सुशासन, स्थिर सरकार र संसद्, जनपक्षीय नीति , नियम र कानुको अपेक्षासहित निर्वाचनमा भाग लिन लागेको हो ।

‘नागरिक भ्रष्टाचार, कमिसनखोरी, तस्करी, राष्ट्रघात विपक्षमा सुशासन स्थिर सरकार र संसद्, जनपक्षीय नीति, नियम र कानुनको अपेक्षासहित यो निर्वाचनमा सहभागी हुँदैछन् ।

आम नागरिकको चाहना नयाँ विचार र प्रस्ताव सहितको नयाँ नेतृत्व हो । यो निर्वाचनमा हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पनि सहभागी हुँदैछ । हामी पूर्ण विश्वास, जिम्मेवारी बोध एवं आशा  र  भरोसाका  साथ  यो संक्षिप्त प्रतिबद्धता–पत्र सार्वजनिक गर्दछौँ’, विप्लवले प्रतिबद्धता जनाउँदै भने ।

‘नेपाल राज्यलाई एकीकृत र समृद्ध बनाउन अग्राधिकारसहितको समाजवादी सङ्घीय राज्यमा पुनर्संरचना  गर्नुपर्नेमा जोड दिएको छ ।  त्यसैगरी न्यायपालिका, कार्यपालिका,  व्यवस्थापिका लगायत राज्यका सबै अङ्ग  र निकायमा  बहिष्करणमा  पारिएका वर्ग, क्षेत्र, जातजाति तथा लिङ्गको  समानुपातिक  सहभागिता र  प्रतिस्पर्धा  दुबैलाई सुनिश्चित गर्नु पर्ने स्पष्ट पारेको छ । यस्तो राज्य व्यवस्थाले मात्र नेपालका  मजदुर, किसान, श्रमजीवी, मध्यमवर्ग, बुद्धिजीवी वर्गलाई राजनीतिक  रूपले  अधिकार सम्पन्न गराउने छ भने जनजाति, दलित, महिला, मधेसी  लगायतका उत्पीडित जाति समुदायलाई राजनीतिक,  आर्थिक, सांस्कृतिक,  भाषिक, मनोवैज्ञानिक रूपले एकताबद्ध गर्ने विप्लवले विश्वास लिएका छन् ।