राजनीति

नागरिकको अपेक्षा अनुसारको समृद्धि दिने बाटोमा कांग्रेस लाग्नेछ : महामन्त्री पौडेल



काठमाडौँ, १९ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार पार्टी सुधारिएको बताउँदै सुधारिएको नेतृत्वले देश विकासको नेतृत्व लिने बताएका छन् ।  

काठमाडौँ–५ का उम्मेदवार रहेका महामन्त्री पौडेलले आज मतदाताहरूसँग कुराकानीका क्रममा कांग्रेससँग नागरिकका गुनासा रहेको स्विकार्दै अब गुनासा सम्बोधन गर्दै अपेक्षा अनुसारको समृद्धि दिने बाटोमा कांग्रेस लाग्ने बताए ।

नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर पार्टीले घोषणापत्र ल्याउने बताए । 

उनले भने, ‘आम निर्वाचन २०८२ का लागि देश विकासका भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ । घोषणापत्रले नागरिकका चाहना सम्बोधन गर्दै देश विकासको अबको मार्ग चित्र तय गर्छ,’ ‘नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर हामी अघि बढ्दैछौँ । सबैको साथ अपेक्षा गरेका छौं ।’