समाचार

रघुगङ्गाको जङ्गलमा २ थान भरुवा बन्दुक फेला



काठमाडौँ, २० माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ मा पर्ने झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जङ्गलबाट भरुवा बन्दुक बरामद गरेको हो । जङ्गलमा राखेर रातको समयमा चोरीसिकारीमा प्रयोग हुने गरेको प्रहरीको आशङ्का छ ।

बन्दुक बरामद गरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । म्याग्दीको ग्रामीण क्षेत्रमा वन्यजन्तुको सिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउनसक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुवा बन्दुक खोज अभियानअन्तर्गत यसअघि ११५ थान बन्दुक फेला पारिएको प्रहरीले जनाएको छ ।