समाचार

श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या



काठमाडौँ, २० माघ । मोरङको रंगेलीमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका–५ बहुवन बस्ने अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीस्थित ससुराली पुगेर पत्नीको हत्या गरेको हो । 

आज बिहान २ः४५ बजे भएको हो । २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या भएको प्रहरीले जनाएको छ ।
मुकेश सोमबार बेलुका  ससुराली घरमा पुगेका थिए । अम्बिकाकुमारीलाई चक्कुले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रहरीको प्रारम्भिक अनुमान छ । दुवैको शव अहिले घटनास्थलमै छ । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल घटनास्थल पुगेका छन् ।
घटनास्थल पुगेर प्रहरी टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ ।