एजेन्सी, २० माघ । बंगलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारसँग सम्बन्धित दुईवटा छुट्टाछुट्टै मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ ।
सरकारको एक आवासीय योजनाअन्तर्गत जग्गा बाँडफाँट गर्दा भएको अनियमिततासँग सम्बन्धित यी मुद्दाहरूमा ढाकाको विशेष अदालत–४ का न्यायाधीश रबिउल आलमले सोमबार उक्त फैसला सुनाएका हुन् । अदालतले दुवै मुद्दामा हसिनालाई पाँच–पाँच वर्षको जेल सजाय तोकेको छ ।
यो मामिला राजधानी ढाका नजिकैको पूर्वाचोल क्षेत्रमा सञ्चालित ‘राजुक न्यू टाउन’ परियोजनासँग सम्बन्धित छ, जहाँ दुईवटा १०–काठाका प्लट गलत तरिकाले वितरण गरिएको आरोप लागेको थियो ।
अभियोजन पक्षका अनुसार आरोपीहरूले आफ्नो पदको दुरुपयोग गर्दै नियमविपरीत जग्गा बाँडफाँट प्रक्रियामा हेरफेर गरेका थिए । यो परियोजना राजधानी विकास प्राधिकरणअन्तर्गत सञ्चालित छ ।
यस मुद्दामा शेख हसिनाका साथै उहाँका परिवारका अन्य सदस्यहरूलाई पनि दोषी ठहर गरिएको छ । अदालतले तुलिप सिद्दिकीलाई कुल चार वर्ष, रदवान मुजिब सिद्दिकी र अजमिना सिद्दिकीलाई सात–सात वर्षको जेल सजाय सुनाएको छ ।
त्यसैगरी, अदालतमा आत्मसमर्पण गरेका राजुकका सदस्य मोहम्मद खुर्सिद आलमलाई दुई वर्षको जेल सजाय दिइएको छ ।
पूर्वप्रधानमन्त्री शेख हसिना हाल भारतमा बसोबास गर्दै आएकी छिन् । गत वर्ष अगस्ट ५ मा बंगलादेशमा भएको विरोध प्रदर्शन र राजनीतिक विद्रोहपछि उनले देश छोडेर भारतमा शरण लिएकी थिइन् । यसअघि नै बंगलादेशी अदालतले उनलाई ‘फरार’ घोषित गरिसकेको छ । द हिन्दूबाट ।
03 February 2026 11:13 AM










प्रतिक्रिया दिनुहोस्