राजनीति

सरकारले संघीयताको भावनाअनुसार काम गर्न सकेन : नेता सिटौला



काठमाडौँ, २० माघ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले संघीयता भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको बताएका छन् ।

आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि संघीयता भावना अनुसार संघीय सरकारले काम नसकेको बताएका हुन् ।

संघीयताको भावना बोकेको प्रदेशहरूले पनि आफ्नो अधिकार प्रयोग गर्नै नसकेको भन्दै उनले संविधानले अनुसूचीमा रहेको अधिकारको बाँडफाँटको सूचीमा समेत समस्या रहेको धारणा बताए ।सिटौलाले कतिपय ठाँउमा प्रदेश सरकारभन्दा बढी स्थानीय सरकारले राम्रो काम गरेको देखिएको उल्लेख गरे । उनले संघीयताको कार्यान्वयन सम्बन्धमा प्रतिनिधिसभा, राष्ट्रिय सभा दुवैले मिलेर एउटा साझा दृष्टिकोण बनाउनुपर्ने बताए ।