राजनीति

‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्था खारेज गर्नुपर्छ : मन्त्री भण्डारी



काठमाडौँ, २० माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीलाई श्रमिकमैत्री बनाउन ‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् ।

आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले एक महिनाभित्र वैदेशिक रोजगारीको क्षेत्रमा रहेका सबै सिन्डिकेटहरु तोड्ने दाबी पनि गरे । उनले श्रमिकलाई ट्र्यापमा पार्ने खालका सबै प्रकारका कार्यविधि खारेज गर्दै आवश्यक नीतिगत सुधार गरिने बताए । 

उनले भने, ‘हामी श्रमिकमैत्री नबनेकै हो । आत्मसमीक्षा गरौँ । अब हामीले वैदेशिक रोजगार ऐनअन्तर्गतको नियमावलीको नियम ५२ (३)मा कार्यविधि भनेको छ । त्यसमा कार्यविधिको प्रयोग गरेर यस क्षेत्रमा देखिएका समस्या तथा बाधा अड्चनहरु फुकाउन सकिनेछ भनिएको छ । अन्तरिम सरकारको कार्यकालमै वैदेशिक रोजगारसँग सम्बन्धी कार्यविधि संशोधन गर्नको लागि समिति बनेको छ । समितिले स्टेकहोल्डरहरुसँग आवश्यक सुझाव लिएर काम गरिरहेको छ । वैदेशिक रोजगारसँग जोडिएको फ्रि भिसा, फ्रि टिकटको विषय पनि समस्याको रुपमा देखिएको छ । हेर्दा सुन्दा राम्रो लागेपनि त्यसले राजश्व चुहावटदेखि लिएर कर छली र सङ्गठित अपराधहरु यसको माध्यमबाट भइरहेका छन् । त्यसकारण यस्ता प्रकारका पपुलिष्ट मुद्दालाई लिएर कहिलेसम्म हामी गुमराहमा पर्ने ? त्यसकारण यसलाई खारेज गरौँ ।’