समाचार

नक्कली नोटसहित एक युवक पक्राउ



सुनसरी, २२ माघ । हरिनगरा गाउँपालिकाबाट प्रहरीले २८ हजार नेपाली नक्कली नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सुनसरीकै इनरुवा नगरपालिका वडा नं. १० बस्ने २५ वर्षीय बहिस मियाँ रहेका छन् । बिहीबार राति करिब ८ बजेतिर हरिनगरा गाउँपालिका वडा नं. १ स्थित एउटा किराना पसलमा सामान खरिद गर्ने क्रममा मियाँले नक्कली नोट दिएको सूचना प्राप्त भएपछि प्रहरी सक्रिय भएको थियो ।  नक्कली नोट दिएर सर्वसाधारणलाई ठग्न खोजेको जानकारी पाउनासाथ प्रहरी चौकी रामनगर भुटाहाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले मियाँलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथबाट नेपाली १ हजार दरका २८ थान नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ। बरामद गरिएका सबै नोटहरू जाली (नक्कली) देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।