काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन् ।
‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यताका साथ अबको सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्ने उनले बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले उपचारका लागि नागरिकले घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्न कांग्रेसले स्पष्ट खाका तयार पारेको दाबी गरे थापाले आफ्नो कार्यकालमा देखेको पीडादायी अवस्थालाई स्मरण गर्दै अहिलेको स्वास्थ्य प्रणालीमा आमूल सुधारको आवश्यकता औँल्याएका छन् ।
उनले धेरै नागरिकले पैसा नभएकै कारण बिचमै उपचार छाड्नुपरेको र गरिबीबाट बल्लतल्ल माथि उठेको परिवार कडा रोग लाग्दा पुनः गरिबीमै भासिने अवस्था रहेको बताए । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नागरिकले उपचारमा आफ्नो खल्तीबाट बढीमा २० प्रतिशत मात्र खर्च गर्नुपर्ने भए पनि नेपालमा यो दर ५७ प्रतिशतभन्दा माथि रहेको तथ्याङ्क उनले प्रस्तुत गरे । यो तथ्याङ्कले स्वास्थ्य क्षेत्रमा राज्यले आफ्नो भूमिका सही रूपमा निर्वाह गर्न नसकेको प्रस्ट हुने उनको भनाइ छ ।
कांग्रेसको सङ्कल्प पत्रमा स्वास्थ्य बीमालाई व्यवस्थित बनाउने विस्तृत योजना समेटिने जानकारी दिँदै उनले जिम्मेवारी पाएको खण्डमा यसलाई राष्ट्रिय गौरवको आयोजना बनाउने प्रतिबद्धता जनाए ।










प्रतिक्रिया दिनुहोस्