समाचार

लाखौँ ठगी गर्ने एक महिला पक्राउ



काठमाडौँ, २६ माघ । आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहायक निरीक्षक (असई) बताउँदै विभिन्न व्यक्तिलाई ठगी गर्ने एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा सर्लाहीको बरहथवा घर भई हाल कविलासी नगरपालिका बस्ने ३५ वर्षीया निर्मला महतो रहेकी छिन् । उनले नेहा, निशा र पुनम कुमारी लगायतका विभिन्न उपनाम प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएकी थिइन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार निर्मलाले भन्सारका कर्मचारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै सस्तोमा स्कारपियो गाडी मिलाइदिने प्रलोभन देखाएर ठगी सुरु गरेकी थिइन् । उनले सर्लाहीका राजेश्वर साहकी श्रीमती पुनम कुमारीको नागरिकता र फोटो दुरुपयोग गरी आफ्नै नाममा राष्ट्रिय परिचयपत्र बनाएकी थिइन् । सोही परिचयपत्रका आधारमा माछापुच्छ्रे बैंकमा खाता खोलेर उनले नक्कली हस्ताक्षर गरी चेक दिने र ठगी गर्ने गरेको पाइएको छ ।

निर्मलाले चन्द्रपुरका एक ज्वेलर्सबाट २ लाख ७४ हजारको सुनचाँदी उधारो लगेर नतिरेको, एक व्यक्तिसँग घरायसी समस्या देखाएर ५ लाख सापटी लिएको र किराना पसल तथा गाडी भाडा बापत १ लाख २६ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । उनले विश्वास दिलाउन आफू प्रहरी भएको नक्कली परिचय दिने गरेकी थिइन् ।

प्रहरीले उनलाई माघ ४ गते चन्द्रपुरबाट पक्राउ गरे पनि लामो समयसम्म आफ्नो वास्तविक पहिचान लुकाएकी थिइन् । विभिन्न कागजात र बैंक खाताको अनुसन्धानपछि मात्र उनको वास्तविक परिचय खुलेको हो । 

उनीमाथि अहिले ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।