अर्थ

भदौ २३ र २४ गतेको घटनापछि निजी क्षेत्रको त्रास र मानसिक चोट डरलाग्दो छ: मन्त्री सिन्हा



काठमाडौँ, २६ माघ । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्र सुरक्षित नभएसम्म मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने प्रष्ट पारेका छन् ।

क्लिकमाण्डुद्वारा आयोजित ‘जेनजी आन्दोलनपछिको लगानीकर्ताको मनोबल’ सम्बन्धी कार्यक्रममा बोल्दै उनले भदौ २४ को घटनापछि निजी क्षेत्रको खस्किएको आत्मविश्वास र मनोबल सरकारका लागि सबैभन्दा ठुलो चुनौती भएको बताए । भदौ २३ र २४ गतेको घटनामा निजी क्षेत्रले ३४ अर्बको प्रत्यक्ष भौतिक क्षति र करिब ८१ अर्बको अप्रत्यक्ष आर्थिक क्षति व्यहोरेको तथ्य उल्लेख गर्दै उनले आर्थिक नोक्सानीभन्दा पनि लगानीकर्तामा पैदा भएको त्रास र मानसिक चोट डरलाग्दो भएको बताए ।

जेन–जी आन्दोलनपछि केही दिन राज्य सरकार विहीन जस्तै भएको स्वीकार गर्दै उनले अहिले शान्ति सुरक्षाको अवस्थामा सुधार आएको र घटनाको पुनरावृत्ति हुन नदिन सरकार सचेत रहेको दाबी गरे। मन्त्री सिन्हाले नीतिगत सुधारमा हुने अवरोध र स्वार्थ समूहको चलखेलप्रति पनि असन्तुष्टि व्यक्त गरे।

नेपालको कुल गार्हस्थ उत्पादनमा ८१ प्रतिशत योगदान र ८५ प्रतिशत रोजगारी सिर्जना गर्ने निजी क्षेत्र नै असुरक्षित हुनु दुःखद भएको मन्त्री सिन्हाको भनाइ छ ।