काठमाडौँ, २६ माघ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भदौ २३ को आन्दोलन भ्रष्टाचार विरुद्ध भए पनि २४ गतेको विध्वंश स्वाभाविक नभई राष्ट्रको अस्तित्वमाथि नै हमला भएको बताएका छन् ।
क्लिकमाण्डुद्वारा आयोजित ‘जेनजी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपालको भविष्य अराजकतामा नभई विश्वास र सुधारमा मात्र सुरक्षित रहेको बताएका हुन् । उनले भदौ २३ को आन्दोलन भ्रष्टाचार विरुद्ध भए पनि २४ गतेको विध्वंश स्वाभाविक नभई राष्ट्रको अस्तित्वमाथि नै हमला भएको जिकिर गरे । नेपाल अहिले पनि एफएटीएफको ‘ग्रे लिस्ट’ मा पर्न सक्ने जोखिममा रहेको प्रति चिन्ता व्यक्त गर्दै उनले सुशासन र अन्तर्राष्ट्रिय मापदण्डप्रति व्यवहारमै प्रतिबद्धता देखिनुपर्ने बताए ।
अध्यक्ष दाहालले भदौ २३ र २४ गतेका घटनाले लगानीकर्ताको मनोविज्ञानमा गहिरो चोट पुर्याएको र निजी क्षेत्रको आत्मविश्वास नफर्किएसम्म अर्थतन्त्र बलियो हुन नसक्ने चेतावनी दिए । ९८ प्रतिशत व्यवसायीको मनोबल खस्कनु र ९७ प्रतिशतले लगानीको वातावरण कमजोर भएको महसुस गर्नु अर्थतन्त्रका लागि खतराको घण्टी भएको उनले उल्लेख गरे । ‘नाफा कमाउनु अपराध होइन, यो व्यवसाय सञ्चालनको अनिवार्य आधार हो,‘ उनले भने, ‘उद्यमीले जोखिम मोलेर गर्ने लगानी र कमाउने नाफाबाटै नयाँ रोजगारी सिर्जना हुने र राज्यले कर पाउने कुरा सबैले बुझ्न जरुरी छ।’










प्रतिक्रिया दिनुहोस्