राजनीति

देशभित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गरौं : सभापति थापा 



काठमाडौँ, २६ माघ । कांग्रेस सभापति गगनकुमार थापाले देशमै उच्च तलब दिने रोजगारी सिर्जना गर्न उपयुक्त वातावरण बनाउनुपर्ने बताएका छन् ।

आज नेपाल इन्जिनियर्स एसोसियसन, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको आयोजना र केएण्डके इन्जिनियरिङ कन्सल्टिङको समन्वयमा आयोजित ‘नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर’ विषक अन्तरक्रियामा थापाले धेरै तलब दिने रोजगारीहरुको प्रवर्द्धन गर्नुपर्ने जोड दिएका हुन् । 

धेरै तलब दिने रोजगारी सिर्जना हुँदा त्यसले अरु रोजगारी आफैँ सिर्जना गर्ने थापाको भनाइ थियो । उनले नेपालमा इन्जिनियरिङ क्षेत्रले रोजगारीको अवसर सिर्जना गरिरहेको र थप रोजगारी सिर्जना गर्न आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए । 

कार्यक्रममा केएण्डके इन्जिनियरिङका अध्यक्ष पूर्ण खरेलले नेपालमा इन्जिनियरहरुको सम्भावना प्रशस्तै रहेको बताए । उनले आफ्नै संस्थामा नेपालमा डेढ सय इलेक्ट्रिकल इन्जिनियरले काम गरिररहेको भन्दै अबको तीन वर्षमा ६ सय इन्जिनियरका लागि रोजगारी सिर्जना गर्ने बताए ।