काठमाडौँ, २६ माघ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले आफ्नो विवरण अनलाइनबाटै अध्यावधिक गर्न सक्ने सेवा सुरु गरेको छ ।
गएको पुस २२ गते दूरसञ्चार कार्यालय सुन्धाराबाट यसको परीक्षण सुरु गरिएको थियो । कम्पनीको २२औँ वार्षिकोत्सवका अवसरमा यही माघ २२ गतेदेखि देशभरका सबै कार्यालयबाट यो सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
आफ्नो नाम वा अरू विवरण सच्याउनुपर्ने अवस्थाका ग्राहकले कस्टमर लगइन पोर्टलमार्फत सेवा लिन सक्नेछन् । यसनिम्ति सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी राखेर त्यसैअनुसार व्यक्तिगत र अरू विवरणसहित आफूले धेरै कल गर्ने पाँच मोबाइल नम्बर समेत समावेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
सबै विवरण भरिसकेपश्चात् प्रमाणीकरणका निम्ति नेपाल टेलिकमको कुनै कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ । त्यस आधारमा टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ ।
टेलिकमका अनुसार, अझै धेरै ग्राहकको व्यक्तिगत विवरण अद्यावधिक छैन । यस्तो अवस्थामा यसबाट धेरै ग्राहकलाई विवरण अद्यावधिक गर्न सहज हुनेछ ।
09 February 2026 15:24 PM










प्रतिक्रिया दिनुहोस्