राजनीति

राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित



काठमाडौँ, २६ माघ । राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित भएको छ ।

आज बसेको सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ५ वैशाख २०८२ मा ल्याएका थिए । जसलाई राष्ट्रिय सभामा दर्ता गरिएको थियो ।

१४ वैशाख २०८२ मा राष्ट्रिय सभामा यो विधेयक प्रस्तुत गरिएको थियो । ११ साउन २०८२ मा दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको थियो । विधायन समितिले पारित गरेर सभामा लगेसँगै सभाले पनि पारित गरेको हो ।

विधेयक ऐनमा रुपान्तरण भएसँगै पर्यटकीय गतिविधिको प्रवर्धन, पर्यटन उद्योगको व्यवस्थापन तथा नियमन गर्न सहज हुने सरकारको विश्वास छ । पर्यटकको हित, सुरक्षा र सुविधा अभिवृद्धि गर्ने विधेयकको उद्देश्य छ ।

पर्यटन क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य अभिवृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्न पर्यटन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन भनेर ल्याइएको विधेयक राष्ट्रिय सभाबाट पारित भएको हो ।