काठमाडौँ, २७ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेपालका राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उनले चुनौतीका साथ विचार, नाम, संगठन र राजनीतिक मुद्दाका हिसाबले नेकपा नै नयाँ हो भनेर जनतालाई बुझाउन निर्देशन दिए । प्रचण्डले कतिपयले अहिले नयाँ र पुरानाबारे गलत भाष्य बनाइएको भन्दै त्यसलाई चिर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने, ‘हाम्रो नेपाली कम्युनिस्ट पार्टी भन्दा नयाँ पार्टी नेपालमा कुनै पनि छैन । नाम र भाषा र व्याकरणको दृष्टिकोणले र सबै खालका पुच्छर हटाउने दृष्टिकोणले पनि । विचारको हिसाबले पनि योभन्दा नयाँ पार्टी कुनै पनि छैन । सबै वर्ग क्षेत्रको अधिकारको पहिचान गर्ने पार्टी । जसले आफूलाई नयाँ भन्ने गरेका छन् उनीहरू विचारका दृष्टिले सबभन्दा पुराना हुन् । उदार पुँजीवाद र दलाल पुँजीवादका पक्षधर कसरी नयाँ ? एउटा भाष्य बनाउन खोजिएको छ सोसल मिडियाबाट नयाँ भन्नेहरूले तर उनीहरूको राजनीतिक विचार सिद्धान्त नभएर पुरानाको विरोध गर्नु मात्र नयाँ हो । राजनीतिक इतिहासमा, सामाजिक क्रान्तिको विज्ञानमा इतिहासदेखि प्रमाणित निर्णायक कुरा विचार र राजनीतिक मुद्दा नै हो त्यो राष्ट्रहितमा छ कि छैन भन्ने मुख्य कुरा हो ।’
साथै उनले विभिन्न सर्भेहरूलाई हेर्दा यो निर्वाचनमा नेकपा नै पहिलो पार्टी बन्ने अवस्था रहेकाले सोही अनुसार पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउनेतर्फ लाग्न सुझाव दिए ।










प्रतिक्रिया दिनुहोस्