काठमाडौँ, २७ माघ । गुठी संस्थानले महाशिवरात्रि पर्वको तयारी पूरा गरेको छ ।
आज संस्थानले पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि ५ गतेसम्म महाशिवरात्रि पर्व सञ्चालन गर्नको लागि तयारी पूरा गरेको जानकारी दिएको हो ।
यस वर्ष महाशिवरात्रि फागुन ३ गते मनाइँदैछ । महाशिवरात्री पर्व मनाउनको लागि संस्थानले पर्व अगाडी र पछाडी गर्नुपर्ने कार्यहरुको तयारी पूरा गरेको हो ।
महाशिवारात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र तथा काठमाडौँका विभिन्न अखडाहरूमा साधुसन्तको सेवा, पूजा तथा व्यवस्थापनका लागि संस्थानले आवश्यक तयारी पूरा गरेको छ ।
संस्थानले महाशिवरात्रि पर्व अवधिभर पशुपति क्षेत्रका मठ–मन्दिर तथा अखडाहरूमा उपस्थित साधुसन्तका लागि दाउरा, भोजन, पूजा सामग्री र दक्षिणाको व्यवस्था गर्ने भएको छ ।
फागुन १ गते संस्थानको शाखा कार्यालय पशुपतिका कर्मचारीहरूले राष्ट्रपतिबाट पशुपतिनाथ मन्दिरमा अर्पण गरिने तथा साधुसन्तलाई प्रदान गरिने सामग्रीहरूलाई परम्परागत विधिअनुसार सङ्कल्प गर्नको लागि राष्ट्रपति कार्यालयमा जाने तयारी छ ।
गुठी संस्थानले यस वर्ष महाशिवरात्रि पर्वका लागि दाउरा खरिदमा ८ लाख रुपैयाँ र पर्व सञ्चालनका लागि ३२ लाख रुपैयाँ गरी ४० लाख रुपैयाँ छुट्याइएको छ ।
गत वर्ष महाशिवरात्रि पर्वमा २ हजार ३८९ जना साधुसन्तलाई वर्गीकृत गरी दक्षिणासहित बिदाइ गरिएको थियो । दक्षिणा वितरणमा मात्र २० लाख ५८ हजार ६ सय ७१ रुपैयाँ खर्च भएको संस्थानले जनाएको छ । साथै करिव ५० हजार केजी दाउराको प्रबन्ध गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्