काठमाडौँ, २८ माघ । चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडचढी तालिम सुरु भएको हो ।
ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक चलचित्र निर्माणमा घोडचढीलाई अत्यावश्यक सीपका रूपमा लिइँदै आएको वर्तमान सन्दर्भमा, कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित तथा व्यावसायिक बनाउने लक्ष्यसहित चलचित्र विकास बोर्डको आयोजनामा यो तालिम सञ्चालन गरिएको हो।
तालिम कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा अनुभवी कलाकारहरू विजय बराल, नाजिर हुसेन, कविता नेपाली, विशाल पहाडी, एवन उप्रेती, दिनेश खड्का, सरिता भारती, अरुण बहादुर स्याङ्तान (लामा), श्रीदेव भट्टराई, गोपाल ढकाल (छन्दे) लगायत पर्दा अगाडिका विभिन्न चलचित्रकर्मीहरूको सक्रिय सहभागिता रहेको छ।
घोडचढी तालिम निकोसेरा, भक्तपुरस्थित रहेको ह्वाइट हाउस एग्रो भिल्लामा प्रशिक्षक श्री सुरेश ठकुरी तथा उहाँको समूहद्धारा प्रदान गरिँदै आएको छ। तालिम अवधिभर सहभागीहरूलाई घोडासँगको तालमेल, व्यावहारिक अभ्यास, सुरक्षा मापदण्ड सहित आवश्यक आधारभूत सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिँदै आएको छ ।
बोर्डले यस्ता किसिमका सीपमूलक तालिम कार्यक्रममार्फत नेपाली चलचित्र उद्योगको उत्पादन गुणस्तर अभिवृद्धि हुनुका साथै कलाकार तथा प्राविधिकहरूको सुरक्षा, व्यावसायिकता र आत्मनिर्भरता वृद्धि हुने विश्वास व्यक्त गरेको छ । साथै चलचित्र विकास बोर्डले अर्को हप्ता पर्दा अगाडिका कलाकारहरूलाई पौडी तालिम पनि सञ्चालनमा ल्याउदै छ ।










प्रतिक्रिया दिनुहोस्