Banner News

अख्तियार दुरुपयोग नागरिकको आस्था, विश्वास र भविष्यमाथि गरिने आघात हो : राष्ट्रपति



काठमाडौँ, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन् ।

आज काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र नभएर नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात पनि भएको बताए ।

उनले भने, “अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र होइन, यो नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात पनि हो, यसले आर्थिक क्षति वा नैतिक विचलनभन्दा धेरै पर पुगेर राज्य र नागरिक बिचको भरोसाको सेतुमा चोट पुर्‍याउँछ”, “जब सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिन्छ, तब राज्यले नागरिकमाथि गरेको विश्वास मात्र होइन, नागरिकले राज्यप्रति राखेको भरोसा पनि कमजोर बन्छ । यसले शासन प्रणालीप्रति निराशा जन्माउँछ, कानुनप्रति आस्था कमजोर बनाउँछ र लोकतन्त्रको आधारभूत मूल्यलाई क्षति पुर्‍याउँछ ।”