समाचार

जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते



काठमाडौँ, २९ माघ । डोल्पामा भएको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार त्रिपुरासुन्दरी नगरपालिका-३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेर जिप आज बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा त्रिपुरासुन्दरी-३ जिउ गाउँकै अन्दाजी ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको छ । जिउ गाउँकै अन्दाजी ३८ वर्षीय सुकलाल गुरूङ, त्रिपुरासुन्दरी-३ सुँ गाउँकी ४५ वर्षीय रमा बोहोरा र चालक घाइते भएका छन् । घाइतेहरु थप उपचारको लागि जिल्ला अस्पताल दुनैमा पठाइएको छ ।

चालक सल्यानको कुमाख गाउँपालिकाका २५ वर्षीय एलिस बुढाथोकीलाई प्रहरी चौकी त्रिपुराकोटले नियन्त्रणमा लिएको जानकरी दिएको छ ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।