समाचार

वृद्धाको हत्या गरी गहना लुटपाट गर्ने २ जना पक्राउ



काठमाडौँ, १ फागुन । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षकै गोपाल नाथलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साउद ट्याक्टर चालक हुन् भने नाथ उनको सहयोगीका रूपमा काम गर्थे । मृतक जोशीका छिमेकी समेत रहेका ट्याक्टर चालक साउदकै योजनामा जोशीको हत्या गरेर गरगहना लुटपाट गरिएको पाइएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाका अनुसार बयानका क्रममा दुवै जनाले अभियोग स्वीकार गरेका छन् ।

उनीहरूले जोशीको हत्यापछि लुटपाट गरेका गरगहना समेत बरामद गरिएको छ । झन्डै दुई तोला बराबरका गरगहना बरामद गरिएका छन् । उनीहरूमध्ये साउद चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भोगेका थिए ।

उनीहरू लागूऔषध दुर्व्यसनीमा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।