समाचार

आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै



काठमाडौँ, २१ जेठ । आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ ।

दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो । तीन हप्तासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्याइएको थियो । मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्याइएको छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ ।

भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्याइन्छ । त्यस्तै सरकारले आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ ।