भक्तपुर, २५ जेठ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान पाँच दलीय गठबन्धनको सरकारको सडक बनाउने नभई मर्मत गर्ने समेत हैसियत नभएको बताउनुभएको छ ।
संघीय सरकारबाट सडक विस्तार आयोजना अन्तर्गत विनियोजित रु ३ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको आदर्श चोकदेखि वडा कार्यालय हुँदै घ्याम्पेडाँडा जाने १२ मिटर चौडाई भएको सडक खण्डको कालोपत्रे गर्नका लागि शिलान्यास कार्यक्रममा बोल्दै नेता बस्नेतले सरकार विकास विरोधी तथा जनताको विकास प्रतिको चाहनालाई तुसारापत गर्ने भएको दावी गर्नुभयो । सरकार जनतापक्षमा नभएको, विकासको पक्षमा नभएको उल्लेख गर्दै उहाँले विकासको नाममा सरकारको कुनै चासो नदिएको स्पष्ट पार्नुभयो । जनताको चाहनालाई पुरा गर्न नदिने तथा विकास विरोधी सरकारलाई जनताले आगामी मंसिरमा हुने प्रदेश तथा संघीय निर्वाचनबाट पाखा लगाउने दावी गर्दै उहाँले एमालेको सरकार आएसँगै भक्तपुरमा चालु सम्पूर्ण आयोजनाहरुको निर्माण सम्पन्न गर्ने उद्घोष समेत गर्नुभयो ।
वडाध्यक्ष पुष्पराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सांसद बस्नेतले भन्नुभयो, ‘वर्तमान सरकार सडक बनाउने हैन, मर्मत पनि हैसियत छैन । मूल्यवृद्धिका कारण सरकारले जनतालाई दिन दिनै राहत हैन, आहत दिइरहेको छ । उक्त सडकलाई सम्पन्न गर्न आवश्यक बजेट लडेर हुन्छ कि जुधेर हुन्छ, जतिसक्दो छिटो बजेट व्यवस्थापन गरि निर्माण सम्पन्न गर्न मेरो पहल हुनेछ । एमालेले सहयोग गर्नेछ । जसको लागि जनताले साथ दिनुपर्ने छ । मंसिरमा यो सरकारलाई बाई बाई, एमालेलाई हाई हाई गरेर भक्तपुरका सम्पूर्ण चालु आयोजनाहरुको लागि थप बजेट व्यवस्थापन गरि समयमा नै निर्माण सम्पन्न गर्नेछौं ।’
केपी ओली नेतृत्वको सरकारको पालामा बजेट व्यवस्थापन भएको जानकारी गराउँदै उहाँले जनताको सहयोगले मात्र उक्त सडक निर्माणले तिव्रता पाएको भन्दै स्थानीयवासीलाई धन्यवाद दिनुभयो । आगामी वर्षको बजेट मन्त्रीको जिल्ला र काग्रेस, माओवादीको ठूला नेताको जिल्लामा मात्र विकासको बजेट लगेको आरोप लगाउँदै उहाँले विगतको सरकारको पालामा भक्तपुरमा एकै वर्ष ३८० वटा भन्दा बढी अरबैं रकमका सडकहरु रातो कितावमा पार्न सफल भएता पनि अहिलेको गठबन्धनको सरकारले भक्तपुरमा एउटा पनि सडक बनाउने बजेट व्यवस्थापन नगरेको भन्दै आक्रोस जनाउनुभयो ।
भक्तपुरमा समयले ल्याएको विकास भनि एमालेले गरेको विकासलाई आलोचना गर्ने कांग्रेसका नेताहरुले आफ्नो नेतृत्वको सरकार हुँदा कति बजेट ल्याउन सफल हुनुभयो भनि उहाँले प्रश्न गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्