राजनीति

देउवा प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधीनता खतरामा पर्‍यो : नेता रावल



काठमाडौँ, २९ जेठ । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभाको सांसद भीम रावलले शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधीनता खतरामा परेको बताएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधीनता नै खतरामा परेको बताएका हुन् ।

उनले भने, ‘२०५२ सालमा शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा देश हिंसाको बाटोमा लागेको थियो, ‘यस्तै, सोही समयमा महाकाली सन्धी पनि भयो ।’ यस्तै, दोस्रोपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन आएको र ५ औं पटक प्रधानमन्त्री बन्दा अहिले संविधान मिच्दै धमाधम शक्ति राष्ट्रसँग सामरिक लगायतका सम्झौता हुँदैछन् । पूर्व रक्षामन्त्री समेत रहेका रावलले अहिले उठिरहेका प्रश्नको निरुपण गर्न नेपाललाई तुरुन्त शान्ति क्षेत्र घोषणा गर्न माग गरे । ‘यो गतिविधिले नेपालको स्वाधिनता र स्वतन्त्रता नै खतरामा पर्न थालेको छ,’ रावल प्रश्न गर्छन्, ‘उहाँ ५ चोटी प्रधानमन्त्री बन्दा त यस्तो छ देशको हालत । ७ चोटी प्रधानमन्त्री बन्नु भयो भने कस्तो होला ?’ उनले भने, ‘उहाँ सात पटक प्रधानमन्त्री बन्दा नेपाल नै के हुन्छ भन्ने आशंका गर्नुपर्ने भयो ।’

नेपालको संविधानको धारा ५१ को ‘ड’ द्वारा निर्देशित संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशील र असंलग्नताको सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति धमाधम उल्लंघन भइरहेको रावलको आरोप छ । यस्तै, नेपाली जनताको रक्षा, अखण्डता, असंलग्नता र स्वतन्त्रता लगायतका विषयमा प्रधानमन्त्री कार्यालयको रुची नदेखिएको समेत उनले बताए ।