Banner News

एसपीपीबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : महामन्त्री थापा



काठमाडौँ, १ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकासँग हुने भनिएको एसपीपी सहकार्यबारे सरकारले संसद्मा जवाफ दिनुपर्ने माग गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले सामरिक रणनीतिको एसपीपी सहकार्य नेपालले गर्न नहुने र गर्न नदिइने बताए । उनले कांग्रेसको पनि यही धारणा भएकाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा उभिएर जवाफ दिनुपर्ने माग गरे ।

उनले भने, “प्रधानमन्त्री मेरो पार्टीको सभापति पनि हुुनुुहुन्छ । नेपाल एसपीपीजस्तो सामरिक स्वार्थ भएको कार्यक्रममा सहभागी हुनु हुँदैन, “आजै अहिले नै यो बैठकमा आएर प्रधानमन्त्रीले आफैँले यस्तो किसिमको सम्झौता उहाँकै भाषामा ‘गर्दैन गर्दैन गर्दैन’ भनेर भन्नुपर्छ ।”

उनले सञ्चारमाध्यममा १० बुँदाको सहकार्य प्रस्ताव रहेको भन्दै सम्झौता के हो, कसको पालमा सुरु भएको र कहाँँबाट आएको ? भन्दै प्रश्न गरे ।
“सेनाको प्रवक्ता भन्नुहुन्छ– यसको बारेमा हामीले थाहा पाएका छैनौँ । वेबसाइटमा हेर्‍यो भने यो २०१९ मै पूववर्ती सरकारको पालामा आएको रहेछ, पूववर्ती रक्षामन्त्रीहरूले सराकारात्मक भएर अघि बढाएको भन्ने पनि समाचारहरूमा आएको छ । सरकारले तत्काल यहाँ उभिएर आफ्नो प्रस्ट धारणा यहाँ राख्नुपर्छ,” उनले भने ।