Banner News

एसपीपीमा सहभागी हुन पत्र लेख्दा मलाई जानकारी दिइएन : अध्यक्ष ओली



काठमाडौँ, ३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा आफूलाई जानकारी नै नगराएको बताएका छन् ।

आज स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ६ असोज २०७२ (सन् २०१५) मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र १३ असोजमा सैनिक हेडक्वाटरमा पठाएको बताए ।

“२०७२ साल असोज ६ गते संविधान जारी भएको ३ दिनपछि, आफू सरकारबाट हट्ने तय भइसकेपछि नेकपा एमालेसँग भएको सहमतिअनुसार आफूले सरकार सुम्पनुपर्ने निश्चित थियो नै । त्यो प्रतिवद्धता अघि आइसकेपछि प्रधानमन्त्री र रक्षामन्त्री सुशील कोइराला हुनुहुन्थ्यो,” उनले भने,“ उहाँले रक्षामन्त्रीको हैसियतले निर्णय गर्नुभएको भएछ । एसपीपीमा पक्ष हुन पाओस् भनेर अमेरिकालाई आग्रह गर्ने निर्णय गर्नुभएको रहेछ ।” “हामीलाई कतै पनि बताइएन । २०७२ असोज २४ गते निर्वाचित भएँ । २५ गते मैले शपथ ग्रहण गरेँ । तर, १० गते त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी एम्बेसीलाई पत्र लेखेको रहेछ । मन्त्रीस्तरबाट क्याबिनेटले यो निर्णय गरेको हुँदा अघि बढाइपाउँ भनेर एम्बासडरलाई पत्र लेखेको रहेछ । सामान्यतयाः प्रधानसेनापतिले त्यसरी पत्र लेख्दैनन्,” उनले भने, “रक्षा मन्त्रालयको काम हो त्यो । परराष्ट्र मन्त्रालयको काम होला त्यो । तर प्रधानसेनापति आफैंले लेखेको रहेछ । जबकि म त्यो पन्ध्र दिनअघि प्रधानमन्त्री भइसेकेको रहेछु । मलाई त्यो कुरा बताइएन । ”

उनले त्यो कुरा गुपचुप नै राखिएको बताए । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला फेरि पत्र लेखिएको बताए । “एम्बेसीलाई प्रधानसेनापतिले पत्र लेखेको रहेछ । त्यो कसैलाई थाहा भएन । त्यो कुरा गुपचुप नै राखियो । प्रचण्डजी नै प्रधानमन्त्री भएको बेला २०७४ साल वैशाख २४ गते राजेन्द्र क्षेत्रीले नै अमेरिकी प्यासिफिक कमाण्डलाई पहिलेको कुरा अघि बढाउनुपर्यो भनेर पत्र लेख्नुभएको छ,” उनले भने ।