Banner News

अध्यक्ष ओली भेट्न गृहमन्त्री र कानुनमन्त्री बालकोटमा



काठमाडौँ, ३ असार । गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

शुक्रबार गृहमन्त्री र कानुन मन्त्री ओली निवास बालकोट पुगेका हुन् । गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीका अनुसार नागरिकता विधेयकबारे छलफल गर्न दुई मन्त्री ओली भेट्न गएका हुन् । अध्यक्ष ओलीको निवास भक्तपुर बालकोटमा भएको भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्री खाणले बताए ।

‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप म र कानुन मन्त्री प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका थियौँ । कुराकानी सकारात्मक भएको छ,’ गृहमन्त्री खाणले भने । गृहमन्त्री खाणका अनुसार ओलीले नागरिकता विधेयक, नागरिकता सम्बन्धि अध्यादेश लगायतका विषयमा अध्ययन गर्न आवश्यक रहेको बताए । नागरिकता विधेयक अगाडि बढाउने कुरामा एमाले तयार रहको ओलीले बताएका थिए ।