भक्तपुर, ४ असार । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित पुरानो बसपार्कसँगै रानी खोलामा नवःनिर्माण सम्पन्न मोटरेबल बक्स ब्रिज पुलको उद्घाटन गरिएको छ ।
वडा नं. ७ को आयोजनामा नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त पुल आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले विगतमा एमाले नेतृत्वको सरकारको पालामा नै ल्याएको बजेटका कारण हालसम्म पनि भक्तपुरमा उद्घाटन र शिलान्यासका कार्यहरु तिव्र गतिका साथ भइरहेको दावी गर्नुभयो । वर्तमाान पाँच दलीय गठबन्धनको सरकारले विकास गर्ने नभई भइरहेको विकासलाई समेत रोकेर विकास र समृद्धिमा समेत राजनीति गरेको भन्दै उहाँले आक्रोस जनाउनुभयो । वर्तमान सरकारले भक्तपुरमा विगतमा सञ्चालनमा रहेको आयोजना तथा नयाँ कुनै पनि योजनाहरु नबनाएको तथा विगतका योजनाहरुलाई कटौती गरी जनताको विकास प्रतिको चाहनामा गंभिर चोट पुर्याएको उहाँले उल्लेख गर्नुभयो ।
गुण्डुवासी तथा नेकपा एमाले भएकै कारण गौरव गर्ने गरी विकासको कामहरु भइरहेको उल्लेख गर्दै उहाँले एमालेको विरुद्धमा रहेका राजनीतिक दलहरुले भक्तपुरको विकासमा भ्रम फैलाएको आरोप लगाउनुभयो । एमालेले गरेको अनेकन कामहरु प्रति जनतामा भ्रम फैलाउने कार्य गरेको उल्लेख गर्दै एमालेले उक्त भ्रमहरुलाई खण्डन गर्न नसक्नु नै स्थानीय तहमा सोचे जस्तो नतिजा आउन नसकेको उहाँले स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेको चाहना भनेको नै विकास र समृद्धि हो, आ आफ्नो ठाउँको परिवर्तन हो । यो गर्ने कुरामा हामी दावाका साथ भन्न सक्छौं कि भक्तपुरमा एमालेको नेतृत्वमा इतिहासमा कहिलै गर्न नसकेको विकास भएको छ । गुण्डुले त्यसलाई नमुनाको रुपमा प्रस्तुत गरेको छ । नेपालका जुनसुकै ठाउँबाट गुण्डु आएता पनि यहाँको हाम्रो काम देखेर प्रभावित भएर जानेछन् । सोसियल मिडियामा समेत व्यापक मात्रामा चर्चित बनेको छ ।’
पाण्डु बजारदेखी करिव ६ किलोमिटर कालोपत्रे गरिसक्ने अन्तिम चरणमा रहेको जानकारी गराउँदै उहाँले उक्त सडकमा हालसम्म ३३ करोड बजेट आएको बताउनुभयो । वर्तमान सरकारले भक्तपुरमा विगतमा भएका योजनाहरु कोल्याप्स बनाएको भन्दै उहाँले आक्रोस जनाउनुभयो । एमालेले जनतालाई आवश्यक पर्ने आयोजनाहरु ल्याएता पनि कांग्रेसलगायतका दलहरुले त्यसलाई नकरात्मक प्रचार गरी जनतामा भ्रम फैलाउने कार्य गरिरहेको भन्दै उहाँले आम जनता सचेत हरन आग्रह समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘रातो कितावमा हनुमन्ते करिडोर, मनोहरा करिडोर, अन्य असंख्य सडकहरुका बजेट समेत व्यापक मात्रामा कटौती गरेको छ । एमालेले ल्याएको बजेटलाई समयले ल्याएको हो भन्ने कांग्रेस तथा गठबन्धनका नेताहरुले अबका दिनमा भक्तपुरमा चालु आयोजनाहरुलाई सम्पन्न गराउने जिम्मा सरकारको हो कि हैन ? कुनै पनि आयोजनामा एक लाख ल्याउने हिम्मत तपाईहरुसँग छ कि छैन ? हिजो अरुले मेहनत गरेर ल्याएको बजेटलाई कुरा काट्न त सजिलो छ तर आफुले एक रुपैंया ल्याउने हिम्मत छ ?’
सरकारले १५ प्रतिशत मूल्यवृद्धि गरी जनताको ढाड सेकिएको उल्लेख गर्दै उहाँले निर्माण व्यवसायीमा २५ प्रतिशत मूल्यावृद्धि गरेकाले ठेगदारहरु काम छोडेर भाग्ने अवस्थामा पुर्याएको बताउनुभयो । सरकारले पुँजीगत खर्च २५ प्रतिशतभन्दा बढी गर्न नसक्नुले नेपालको विकास र समृद्धिको बाधकको रुपमा स्थापीत भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन सरकारले छुट्याएको बजेटले सडक पिच गर्ने, ढल बनाउने, वाल लगाउने त कथा मात्र रहयो । उक्त बजेटले त अब धर्का कोर्ने, बाटोमा रुख रोप्न मात्र हुने भयो । त्यसैले कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेट विकास गर्ने हैन, सडकमा रुख रोप्ने मात्र हो । गठबन्धन सरकारले औंशीमा बोलेको कुरा पूर्णिमासम्म पनि टिक्न नसक्ने भएकाले जनताले पत्याउने छैनन् ।’










प्रतिक्रिया दिनुहोस्