काठमाडौँ, ४ असार । नेकपा (एमाले)का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालकै कारणले विश्वयुद्ध निम्तने खतरा औल्याउनुभएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी)मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने धारणा राख्नुभयो । अहिले विश्व राजनीति नै तरङ्गित बनेको अवस्था उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विश्वव्यापी रूपमा टक्कर भइरहेको छ, दुनियाँका मुलुकहरू विभाजित रूपमा गएका छन् । हामीले सन्तुलित विदेशी नीति अपनाउनुपर्छ । हामी कुनै देशतर्फ ढल्कनुहुँदैन । घोषित नीतिभन्दा बाहिर जानुहुँदैन । दलहरूले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । यो कुनै दल र सरकारको मात्रै कुरा होइन । हामी आफ्नो अन्तर्राष्ट्रिय नीतिबाट विचलित भयौँ भने हाम्रो कारणले पनि विश्वयुद्ध निम्तिन सक्छ । यदि हामी आफ्नो नीति र अडानमा अडिग रह्यौँ भने त्यो विश्वयुद्ध पनि रोक्न सकिन्छ । देश सानो वा ठुलो भएर हुँदैन । नीतिमा अडान हुनुपर्छ ।’
एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको दावी गर्दै सचिव रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको जिकिर गर्नुभयो । उहाँले दलहरूले अब एकआपसमा हिलो छ्यापाछ्याप गर्न नहुने धारणा राख्नुभयो । नेता रायमाझीले भन्नुभयो, ‘एसपीपीको ऐतिहासिक पृष्ठभूमिको बारेमा अझै प्रष्ट र यथार्थ बाहिर आइसकेको छैन । अमेरिकाको प्रस्ताव हो कि नेपालको आफैँले प्रस्ताव गरेको हो कि रु को–को त्यहाँ संलग्न थिए भन्ने यथार्थ विवरण आएको छैन । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिले पनि सबै वास्तविकता माग गरेको छ । कुन तिथि, मिति र कसको पालामा कस्ता प्रस्ताव गएका थिए र कस्ता प्रस्ताव आएका थिए भन्नेबारे समितिले माग गरेको छ । सबै डिटेल आएपछि चर्चा र छलफल गर्न सक्छौँ । अहिले धारणा राख्नु अपुरो हुन्छ । यसो गर्दा देशले समृद्धि पाउँदैन । सुशासन पाउन्न । विकास र समृद्धिको कमन एजेण्डामा छलफल गर्नुपर्छ । जसरी पनि सरकारमा जाऊँ, जोसित पनि मिलेर जाऊँ भन्ने प्रवृत्ति देखिएको छ, यो त्यति उचित होइन । अहिले देशमा समाजवादमा कसरी पुग्न सक्छौँ भन्नेतर्फ कम चर्चा भएको छ । सत्ता प्राप्तिको लागि जस्तो प्रकारको गठबन्धन पनि गर्ने, जस्तो प्रकारको सम्झौता पनि गर्ने काम भएको छ । तर, राष्ट्रियता र समृद्धिको पक्षमा कम चर्चा छ । यो विषय गौण बनाइएको छ । एसपीपी अस्वीकार गर्नुपर्छ । यो राष्ट्रको हितमा छैन ।’










प्रतिक्रिया दिनुहोस्