समाचार

काठमाडौँमा भारी वर्षा, अझै केही दिन जारी रहने



काठमाडौँ, २ जेठ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ ।

बिहान ९ बजेसम्मको मौसमी विवरणअनुसार काठमाडौँमा सबैभन्दा बढी ४१ मिलिमिटर वर्षा भएको छ ।

त्यसैगरी धनकुटामा ३७, पोखरामा १४, ताप्लेजुङमा १२ र विराटनगरमा ५ मिलिमिटर वर्षा भएको छ ।

पूर्वी उत्तर प्रदेशमा न्यून चापीय प्रणाली बढेको र पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रवेशका कारण काठमाडौँ उपत्यकासहित देशका मध्य र पश्चिमी पहाडी भेगमा बदलीसँगै वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

उहाँका अनुसार पूर्वी न्यूनचापीय प्रणालीको प्रभावले खासगरी मध्य र पूर्वी भेगमा बढी असर परेको छ, ती क्षेत्रमा आज अपराह्न र साँझ बदलीसँगै वर्षा हुनेछ । उक्त प्रणालीका साथै सतही रुपमा बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको पनि समिश्रणले बदलीसँगै वर्षा गराएको मौसमविद् रिमालले बताए ।
त्यस्तै पश्चिमी न्यूनचापीय प्रणाली देशको पश्चिमी भेगबाट प्रवेश गरेका कारण पश्चिमी पहाडी भेगमा दिउँसो बदली र वर्षा हुने जनाइएको छ ।

आज देशका मध्य, पूर्वी र पश्चिमी पहाडी भेगमा वर्षा हुने देखिन्छ, ठूलो पानी पर्दैन, धुम्म हुने अस्थायी प्रकृतिको वर्षा गराउनेछ – मौसमविद् रिमालले भने।

काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा मौसम बदली रहे पनि हवाई उड्डयनमा कुनै असर नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले भिजिविलिटी चार किलोमिटर रहेको छ । आज काठमाडौँको न्यूनतम १७ र अधिकतम तापक्रम २६ डिग्रिसेल्सियस रहेकोे छ ।