सम्पादकीय

दैलेख सदरमुकाममा निषेधाज्ञा



काठमाडौं, ३ जेठ । स्थानीय प्रशासनले दैलेख सदरमुकाममा निषेधाज्ञा जारी गरेको छ । स्थानीय तहको चुनावी मत परिणामको विषयमा दलहरुबीच झडप हुन थालेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । सम्भावित झडप र हिंसा रोक्न मंगलवारदेखि रातको समयमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सदरमुकाममा रहेको नारायण नगरपालिका क्षेत्रमा बेलुकी सात बजेदेखि विहान पाँच बजेसम्म भीड जम्मा हुन, समूह बनाएर घर बाहिर हिँडडुल गर्न र नारा जुलुस गर्नमा समेत रोक लगाएको छ । मत परिणामको विषयमा कांग्रेस र एमालेबीच बिवाद हुँदा सोमवार साँझ घण्टौंसम्म झडप भएको थियो । उक्त घटनापछि स्थानीय प्रशासनले मंगलवारदेखि रातको समयमा नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले शान्ति सुरक्षा कायम गर्नका लागि यस्तो कदम चालिएको बताए । उनले भने,‘मतगणनाको काम सकिएको छैन, दलका कार्यकर्ताहरुबीच बिवाद हुन थालेको छ । यसले शान्ति सुरक्षामा पनि असर गरेको छ, सम्भावित दुर्घटना रोक्न हामीले सतर्कता अपनाएका हौं ।’ बुधवार साँझसम्ममा नगरको मतगणना सम्पन्न हुने सम्भावना रहेको भन्दै उहाँले मत गणना सम्पन्न भएपछि निषेधाज्ञा हटाइने जानकारी दिनुभयो । जिल्लाका राजनीतिक दल, नागरिक समाज र स्थानीय बासिन्दाको आग्रह र सहमतिमा नै निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ ।

निषेधाज्ञाको पालना नभए कडा कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका अन्य स्थानको अवस्था सामान्य भए पनि सदरमुकाममा दलहरुबीच झडपको सम्भावना रहेको भन्दै प्रहरीले रातको समयमा अनावश्यक रुपमा घरबाहिर ननिस्कन आग्रह गरेको हो । सोमवार साँझ कांग्रेस र एमालेका कार्यकर्ताबीच नारायण नगरपालिकाकामा करिब तीन घण्टासम्म झडप भएको थियो । जसले गर्दा सदरमुकाममा तनाव भएको थियो । मतगणनाको अवधिमा यस्तो घटना दोहोरिन नदिन आफूहरुले यस्तो कदम चालेको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । अन्नपुर्णमा समाचार छ ।