Banner News

सडकमा उत्रिऔं भने सत्तामा छौं, नउत्रिऔं जनता मारमा छन् : अध्यक्ष नेपाल



काठमाडौँ, ११ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले मूल्य वृद्धिका कारण जनता मारमा परेको बताएका छन् ।

आज काठमाडौंमा बसेको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले मूल्य वृद्धि गर्नेमाथि तुरुन्त कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘सडकमा उत्रीऔं भने सत्तामा आफैँ छौं । नउत्रिऔं मूल्य बढेको छ । मूल्यवृद्धिले जनता आजीत छन् । मूल्य वृद्धि भएको छ भने तुरुन्त छापामार गरेर कारबाही गर्नुपर्छ । पार्टी निर्माण गर्ने भनेको जनता र देशको निम्ति हो ।’

गठबन्धन प्रति केही गुनासा भए पनि गठबन्धन अझै आवश्यक रहेको उनले बताए । उनले गठबन्धनसँग तालमेल गरेर र आफ्नै बलमा पनि संघ र प्रदेशको निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित हुन पनि आह्वान गरे । ‘कतिपय पार्टीहरुले धोका दिए पनि, कतिपयले हामीलाई अपमान गरे पनि, हामी आफैले पनि आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारणले गर्दाखेरी हामीले स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न सकेनौं,’ अध्यक्ष नेपालले भने, ‘तर पनि महानगरपालिकामा समेत हाम्रो पनि उपस्थिति रहेको छ । त्यसमा पनि गठबन्धन दलका सबै घटकहरुले हामीसँग भन्नु भएको छ मिलेरै जाऔं ।’

त्यस्तै उनले आफ्नो पार्टीलाई अनावश्यक गाली नगर्न पनि आग्रह गरे । ‘कथित दश भाइका विभिन्न अभिव्यक्ति म सुन्दैछु, अझै पनि दिमागबाट उनीहरूको नशा उत्रिएको छैन । तथानाम लेखिरहेका छन् । दासजस्तो भएर बसिरहेका छन्,’ अध्यक्ष नेपालले भने, ‘उनीहरूमा कुनै मूल्यमान्यता छैन । पदीय गरिमा पाएका छैनन् । तर पनि अहिले हामीलाई धारे हात लगाउने दुस्साहस गरिरहेका छन्, नगरुन् ।’

उनले तत्कालीन नेकपामा विद्रोह जायज रहेको स्मरण गरे । त्यसैले विद्रोह गरेको उनले स्पष्ट पारे । ‘होइन भने दास भएर बस्नु पर्नेथियो । अथवा राजनीतिबाट पलायन हुनुपथ्र्यो । अहिलेसम्म कसैको आँखा खुलेको छैन भने उनीहरूको पनि आँखा खुलोस्,’ उनले भने ।