शैक्षिक

त्रिविको बजेट : १० शीर्षकमा झण्डै १० अर्बभन्दा बढी रकम विनियोजन



काठमाडौँ, १५ असार । आगामी आर्थिक वर्षको बजेटमा त्रिभुवन विश्वविद्यालयले १० अर्बभन्दा बढी रकम विनियोजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को बजेट नीति तथा कार्यक्रमअन्तर्गत त्रिविले विभिन्न शीर्षकबाट उक्त रकम विनियोजन गरेको हो ।

आगामी आर्थिक वर्षमा विश्वविद्यालय अनुदान आयोगले करिब १८ अर्ब रुपियाँ पाउनेछ । तीमध्ये करिब झण्डै ५० प्रतिशत रकम त्रिविले पाउनेछ । आयोगले १२ विश्वविद्यालयलाई रकम वितरण गर्नेछ । त्रिविले विभिन्न शीर्षकमा बजेट मागेको देखिएको छ । त्रिविअन्तर्गत विभिन्न क्याम्पसको नामै तोकेर बजेट उल्लेख गरेको छ ।

अर्थ मन्त्रालयले मन्त्री र उच्च तहका नेताको आग्रहमा समेत बजेट विनियोजन गरेको पाइएको छ । त्रिविले करिब १० शीर्षकमा बजेट माग गरेको छ । बजेट पुस्तिकामा त्रिभुवन विश्वविद्यालय सञ्चालन खर्च, शिक्षक कर्मचारीको तलबलगायत शीर्षकमा ८ अर्ब ८१ करोड रुपियाँ विनियोजन गरेको छ ।

त्यस्तै, त्रिविका सेडा, सेरिड, सिनासलगायत अन्य विश्वविद्यालयका अनुसन्धान केन्द्रमार्फत् हुने अन्वेषण तथा अनुसन्धान शीर्षकमा १० करोड, त्रिविका स्वायत्त क्याम्पसलाई अनुदान शीर्षकमा ८५ करोड, त्रिवि अर्थशास्त्र कन्द्रीय विभाग, वागेश्वरी क्याम्पस निर्माण, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको भवन निर्माण र पुँजीगत शीर्षकमा १–१ करोड रुपियाँ विनियोजन गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।