शैक्षिक

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता



चितवन, १६ माघ । चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर सो दुर्घटना भएको हो । ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशूली नदीमा पुगेको प्रहरीले जनाएको छ ।

चालक धादिङ खयरघारीका २० वर्षीय रामशरण वाग्लेको घाइते अवस्थामा उद्धार गरिएको र ट्रकमा सवार एकजना बेपत्ता भएको खुल्न आएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेको पहिचान नभएको जनाइएको छ । ट्रकमा अन्य मानिस कति थिए भन्ने नखुलेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

यसैबीच कुरिनटारमा आज बिहान अर्को ट्रक पल्टिँदा दुईजना घाइते भएका छन् । ट्रक पानीमा डुबेको अवस्थामा रहेको छ । बिहान करिब १ः३० बजेको समयमा चितवनको दारेचोक गाविस–३ कुरिनटारमा आफैँ अनियन्त्रित भई ट्रक पल्टिएर २० फिट तल पुग्दा दुर्घटना भएको छ ।

वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना६ख ४७२९ नंको मच्छड धुप बोकेको ट्रक अनियन्त्रित भई पल्टिएको चितवन प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी चालक सिन्धुपाल्चोकका २६ वर्षीय हरि बस्नेत र सहचालक सोही ठाउँका १८ वर्षीय नीरज भुजेल घाइते भएको प्रहरीले जनाएको छ । दुवै घाइतेको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।