सम्पादकीय

महानगरका मेयर र उपमेयरलाई भाडाको कोठा



काठमाडौं, ४ जेठ । पुरानो भवन भुइँचालोले क्षतिग्रस्त भएपछि भाडाको घरबाट सञ्चालन हुँदै आएको काठमाडौं महानगरपालिकाले आफ्नो जननिर्वाचित मेयर तथा उपमेयरलाई पनि त्यही भाडाको घरमा स्वागत गर्ने भएको छ ।

महानगरपालिकाको कार्यालय सुन्धारास्थित जेडिए कम्प्लेक्सको पाँचौं र छैटौं तलामा सञ्चालन हुँदै आएको छ । कार्यकारी अधिकृत ईश्वरराज पौडेल बस्दै आएको कोठा मेयरका लागि खाली हुने समाचारमा उल्लेख छ । प्रवक्ता ज्ञानेन्द्र कार्की बस्दै आएको कोठामा उपमेयर बस्नेछन् । मेयर र उपमेयरका लागि तयार गरिएका दुवै कोठा छैटौं तलामा रहेको समाचारमा जनाइएको छ । महानगरपालिकाका प्रवक्ता कार्कीले मेयर तथा उपमेयरका लागि भाडाकै कोठा तयार गरिएको बताए ।

त्यस्तै, मेयर र उपमेयरको सुरक्षामा नगर प्रहरी खटाउने पनि समाचारमा उल्लेख छ । मेयरका लागि नगर प्रहरीका सईको नेतृत्वमा ८ देखि १० कर्मचारी खटाउने तयारी छ भने उपमेयरका लागि असईको नेतृत्वमा ६ देखि ८ जना कर्मचारी खटाइनेछ ।

उता, ललितपुर महानगरपालिकाले महानगर भवनको चौथो तलामा मेयर तथा उपमेयरका लागि कोठा छुट्टयाइएको छ । दुवै कोठाको रङरोगन सकिएको छ । भित्री रङरोगन, सरसफाइ तथा फर्निसिङका लागि १५ दिनदेखि काम भइरहेको कार्यकारी अधिकृत हरिप्रसाद दाहालले बताएका छन् ।

भरतपुर महानगरपालिकाले भने नवनिर्वाचित मेयर तथा उपमेयरका लागि साबिककै कोठा दिने तयारी गरेको छ। कोठाको रङरोगन गर्ने काम सकिसकेको र टेबुल–कुर्सी फेर्ने काम भइरहेको कार्यकारी अधिकृत प्रेमराज जोशीले बताए । नयाँपत्रिकामा समाचार छ ।