समाचार

पूर्वी तराईमा ‘नाइरोबी फ्लाइ’ को सङ्क्रमण



काठमाडौँ, २५ असार । पूर्वी तराईमा ‘नाइरोबी फ्लाइ’ नामको किराबाट निस्कने कडा एसिडको सङ्क्रमण बढ्न थालेको छ ।

दमक अस्पतालका छालारोग विशेषज्ञ डाक्टर गुरु पौडेलका अनुसार दैनिक ५० जनाभन्दा धेरै बिरामी ‘नाइरोबी फ्लाइ’ किराको एसिडका कारण सङ्क्रमण भएर उपचारका लागि आउने गरेका छन । उनका अनुसार ‘नाइरोबी फ्लाइ’ बिटल्स प्रजातिको किरा हो ।

यो वर्षायाममा र पानी धेरै पर्ने ठाउँमा देखिन्छ । यी किरा सुन्तला र कालो रङ्गका हुन्छन् । डाक्टरहरुका अनुसार यो किराले टोक्ने गर्दैन, तर छालामा बसेको बेला माडिएको अवस्थामा कडा खालको एसिड छालाभित्र पस्छ । डाक्टर पौडेलका अनुसार एलर्जी भएर माड्दा छालामा रातो हुने, पोल्ने, फोका आउने हुन्छ ।

कन्याउँदा दाग र खतसमेत बस्छ । किराबाट निस्कने एसिडको सङ्क्रमणको लक्षण १२ घण्टादेखि २ दिनसम्म देखा पर्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्ने र आफैँ निको भएर जाने डाक्टर पौडेलले बताए । किराबाट निस्कने एसिड शरीरमा बढी फैलियो भने ज्वरो आउने, जोर्नी दुख्ने, बान्ता हुने लगायतका समस्या देखिन सक्छ ।

पौडेलले सुझाव दिनुभयो । दमक अस्पतालका छालारोग विशेषज्ञ डाक्टर गुरु पौडेलका अनुसार ‘नाइरोबी फ्लाइ’ नामको किरा उज्यालोमा बढी आकर्षित हुन्छन् । यो किराबाट जोगिनका लागि झ्यालमा जाली लगाउने, ओछ्यानमा झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग गर्ने र राति वरपर भएका बत्ती बन्द गर्नुपर्ने हुन्छ ।