काठमाडौं, ४ जेठ । मन्त्रीपरिषदको बैठकले नदी प्रणाली व्यवस्थापन तथा हरियाली प्रवद्र्धन, बन विकास र नवीकरण उर्जा प्रवद्र्धन, प्राकृतिक स्रोतको दीगो व्यवस्थापन, जलवायु परिवर्तनबाट हुने जोखिम व्यवस्थापनका लागि अनुकूलन कार्यक्रम समावेश गरी चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पत्रकार बराललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्ने निर्णय गरी त्यसमा संलग्नहरु विरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।
मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । सरकारले सेना तथा प्रहरीले सञ्चालन गरेको स्वास्थ्य संस्थामा आम नागरिकलाई सेवा दिने निर्णय पनि गरेको छ ।
सरकारले स्थानीय चुनावको सन्दर्भमा मारिएका दुई जनालाई शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
काभ्रेको नमोवुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गरिएको हो । सरकारले उनीहरुको छोराछोरीको शिक्षादीक्षामा पनि सहयोग गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी र्दिए ।










प्रतिक्रिया दिनुहोस्