राजनीति

प्रधानमन्त्री देउवा, अध्यक्ष दाहाल, राणालगायतका नेताहरुलाई कारवाही गर्न सांसद बस्नेतको माग



काठमाडौँ, ५ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, देउवाको पत्नी आरजु राणालाई तत्तकाल कारवाही गर्नुपर्ने माग गर्नुभएको छ ।

सांसद बस्नेतले बैठकको शून्य समय बोल्दै सांसद बस्नेतले आफ्नो पार्टीको आर्थिक विभागका सदस्य एम अधिकारीको खोजी गर्नुको साटो विभिन्न ढंगले राज्यको दोहन गरिरहेका नेताहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गरेर परिवार लाद्ने नेताहरु देउवा, प्रचण्ड तथा राणालाई कारवाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केही साथीहरु एमाले अर्थ विभागका सदस्य एम अधिकारी खोजी गरिरहेका छन् । देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गरेर परिवार लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र आर राणा देउवा खोजेर कारवाही गर्नुपर्ने हैन र ? बजेटमा रातारात सेटिङ गरेर कर र भन्सारको दरमा फेरबदल गरेर सीसीटीभी लगायतका प्रमाणहरु नष्ट गर्ने र ६ अर्बभन्दा बढी कमिसन गढबढी गर्ने माओवादी नेता जे शर्मालाई खोजेर कारवाही गर्नुपर्ने हैन र ? पेट्रोलियम पदार्थको आपूर्तिमा गडबढी गर्ने काँग्रेस नेता डी बढुलाई कारवाही गर्नुपर्ने हैन र ? मल अभाव र पुस्तक अभाव गराई किसान र विद्यार्थीमाथि खेलवाड गर्ने एम यादव र डी पौडेलहरुलाई कारवाही गर्नुपर्ने हैन र ? प्रधानन्यायाधीशलाई महाभियोग लगाई प्रक्रिया अवरुद्ध गरेर कामु खाइरहेका डी कार्कीहरूलाई कारवाही गर्नुपर्दैन र ? एमसीसी पास गरेर व्याख्यात्मक टिप्पणी गर्ने एसपीपी सम्झौता गरेर मुलुकलाई महाशक्ति राष्ट्रको सैन्य रणनीतिको अंशियार बनाउने एस देउवा र एन खड्का लगायतलाई कारवाही गर्नुपर्ने हैन र ?’