बुटवल, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको आरोप लगाउनुभयो । एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको जानकारी गराउँदै नेता ज्ञवालीले प्रचलित ऐनअनुसार वैवाहिक अङ्गीकृत नागरिकता विवाह गरेर आउने बित्तिकै प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन सकिने भएकाले उचित नभएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएको छ, यो देशको हितमा छैन ।” वैवाहिक अङ्गीकृत नागरिकताको सवालमा केही मापदण्ड राख्ने तर उनीहरूलाई कुनै प्रकारको व्यवसाय, नोकरी गर्न नरोक्ने गरी व्यवस्था गर्न सकिने उहाँको भनाइ छ ।
ज्ञवालीले दुई ठूला दल एमाले र कांग्रेससंग समानान्तर ढंगले गठबन्धनका लागि वार्ता सम्भव नहुने उल्लेख गर्दै भन्नुभयो, ‘माया एउटासंग विवाह अर्कैसंग गर्ने अनि औंशी भए एमालेसंग पूर्णिमा भए कांग्रेससंग मिल्ने प्रवृत्ति भएकासंग गठबन्धन हुँदैन । एमाले गठबन्धन विना पनि चुनाव लड्न सक्षम छ, यदि वाम गठबन्धन गर्ने हो भने माओवादी र एकीकृत समाजवादीले कांग्रेससंगको गठबन्धन छाड्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्