सुर्खेत, ७ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कम्युनिष्ट आन्दोलनका गद्धार भएको बताउनुभएको छ ।
शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालमा एमालेबाहेक अन्य दलहरु वास्तविक लोकतन्त्रवादी नभएको टिप्पणी गर्नुभयो । माधव नेपाललाई आदर्शका गफ दिने व्यक्तिको रुपमा समेत चित्रितगर्दै उहाँले यदि नेपालमा वास्तविक लोकतन्त्रवादी छन् भने एमालेहरू मात्रै भएकोदावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो प्रचण्ड र माधव नेपालले एमाले विभाजन गरेपनि जनताको नेतृत्व गर्न नसक्ने समयले पुष्टि गरिसकेको छ । ०४५ सालदेखि माओवादीको नेतृत्व गरिरहेका प्रचण्ड अहिलेसम्म आफ्नो ठाउँमा पुग्ने हाराहारीमा पार्टीभित्र नेता जन्मिएको छैन भन्नुहुन्छ । त्यो उहाँको भ्रमपूर्ण तर्क हो ।’
नेपालको राजनीति दुईवटा ध्रुवमा विभाजित भएको समेत पोखरेलले बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाको बाटोमा हिँडेर प्रचण्ड र माधव नेपालले गद्दारी गरिरहेको बताउँदै उहाँले एमालेको नेतृत्वमाथि आक्रमण भइरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘त्यो भनेको एउटा केपी ओलीले अघि सारेको बाटो र अर्को शेरबहादुर देउवाले अघि सारेको बाटो रहेको छ । त्यसमा जनताको बहुदलीय जनवादको बाटो नै उपयुक्त हो । प्रचण्ड–माधव त देउवाकै बाटोमा छन् ।’










प्रतिक्रिया दिनुहोस्