समाचार

चिनियाँले चलाएको कल सेन्टरबाट ४१ जना पक्राउ



काठमाडौँ, ९ साउन । तीनकुनेको गैरिगाउँमा चिनियाँ नागरिकले चलाएको अवैध कल सेन्टरबाट प्रहरीले ४१ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा १४ महिला र २७ पुरुष छन् । उनीहरुमध्ये ८ जनालाई प्रहरी वृत्त, गौशाला र अन्यलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा राखिएको छ । प्रहरीले चलाएको सर्च अपरेशनका क्रममा अवरोध गर्न खोज्ने ८ महिलालाई गौशाला लगिएको हो ।

उनीहरुले स्काई वर्ड सर्भिस प्रा.लि.को नाममा कल सेन्टर सञ्चालन गरेका थिए । उक्त कम्पनीको नामबाट साइबर अपराध भइरहेको सूचनाको आधारमा यो कम्पनीमा प्रहरी टोली ६ महिनाअघि पनि पुगेको थियो । प्रहरी स्रोतका अनुसार कल सेन्टरमा काम गर्ने सञ्चालक र कर्मचारीबीच विवाद भएपछि कर्मचारीले प्रहरी कन्ट्रोल १०० मा फोन गरेका थिए । त्यसक्रममा प्रहरी वृत्त, गौशालाको टोली गैरिगाउँस्थित कार्यालयमा पुगेको थियो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।