राजनीति

८ करोड मतपत्र छाप्ने तयारीमा आयोग



काठमाडौँ, ११ साउन । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले करिब ८ करोड मतपत्र छाप्ने भएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सो जानकारी दिनुभएको हो । ‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नुपर्छ । मतदान केन्द्रमा चार वटा मतपेटिका राख्नुपर्छ । सोहीअनुसार कर्मचारी पनि व्यवस्था गर्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति तय नभए पनि आयोगले आन्तरिक तयारी थालिसकेको बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले अब बस्ने मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोक्ने बताउनुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।