काठमाडौं, ६ जेठ । पहिलो चरणमा निर्वाचन भएका २ सय ८३ स्थानीय तहमध्ये झन्डै एक दर्जन स्थानमा विभिन्न दलका नेत्रीले प्रमुख पदमा जित हासिल गरेका छन् । उपप्रमुख पदमा भने अधिकांश स्थानमा महिला चुनिएका छन् । माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुष्पकमल दाहालपुत्री रेणुको निर्वाचन क्षेत्र भरतपुर महानगरमा अन्तिम परिणाम आइनसके पनि देशभरका विभिन्न नगरपालिका र गाउँपालिकामा एक दर्जन महिला नगरप्रमुखमा चुनिइसकेका छन् ।
जुम्ला चन्दननाथ नगरपालिकामा २८ सय ६ मत हासिल गरेर कान्तिका सेजुवालले नेपालकै पहिलो महिला नगरप्रमुखको परिचय बनाएका छन । कांग्रेसकी कान्तिकाले एमालेका शान्तिलाल महतलाई सात सय ११ मतले पराजित गरेकी हुन । करिब दुई वर्षअगाडि भएको विमान दुर्घटनामा पति गुमाएपछि उनी राजनीतिमा लागेकी हुन ।
टिकट पाएपछि आलोचित हुनुभएकी कान्तिकालाई यो जितले खुसीसाथै चुनौती पनि थपेको छ । उनले आफ्नो नगरलाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यले पाँचबर्से अल्पकालीन र २० बर्से दीर्घकालीन योजना तयार पारेकी छन ।
उज्यालो, हराभरा र स्वच्छ–स्वस्थ नगर निर्माण गर्नु मुख्य उद्देश्य रहेको उनी बताउछिन । संविधानले महिलालाई अधिकार दिए पनि महिलाका लागि विभेदमुखी सामाजिक संरचना तोड्न उनले महिलालाई सशक्त ढंगले अगाडि बढाउने लक्ष्य राखेकी छन । शिक्षा क्षेत्रमा २६ वर्षको अनुभव भएकी कान्तिका सबै अभिभावकका लागि छोराछोरीलाई स्कुल पठाऊँ भन्ने अभियान सुरु गर्दै छिन ।
अहिलेको निर्वाचनमा महिलाको सहभागितालाई उत्साहजनक मान्ने उनी राजनीतिमा महिलालाई सशक्त बनाउन उनीहरूलाई तालिम, एक्स्पोजर भिजिट र नेतृत्व विकासको अवसर दिनुपर्नेमा जोड दिएकी छन । अन्न्पूर्ण पोस्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्