राजनीति

उद्योगी व्यवसायीका लागि मौद्रिक नीति सहज छैन: अध्यक्ष गोल्छा



काठमाडौँ, १३ साउन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीहरुका लागि सहज नभएको बताउनुभएको छ ।

शुक्रबार २८औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एसोसिएसन (नेफा)ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले भन्नुभयो, ‘नयाँ मौद्रिक नीति कसिलो आएको छ । यो मौद्रिक नीति उद्योगी व्यवसायीहरुका लागि सहज छैन । यसले अहिलेको भन्दा अझ बढी बैंकिङ ब्याजदरलाई वृद्धि गर्छ । बजारमा विद्यमान रहेको तरलता अभावलाई बढाउँछ । तर हामीलाई के विश्वास छ भने यो नीति छोटो समयका लागि मात्रै हुन्छ । दीर्घकालीन रुपमा यो मौद्रिक नीतिले सम्बोधन गर्ने निजी क्षेत्रले विस्वास पनि लिएको छ ।’

मौद्रिक नीतिले व्यवसायीहरुलाई सहज नभए पनि औधोगिक उत्पादनका लागि बैंक ब्याजदरमा छुट दिने व्यवस्था उत्साहजनक रहेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले अहिले अर्थतन्त्रमा देखिएका समस्या पनि धेरै लामो समयसम्म नरहने दाबी गर्नुभयो । आगामी वर्ष ५ प्रतिशतले रेमिट्यान्स बढ्न सके व्यापार घाटा, भुक्तानी सन्तुलन वा शोधनान्तर स्थितिमा सुधार आउने उल्लेख गर्दै उहाँले पछिल्लो ६ महिनामा मात्रै २३० प्रतिशत नेपाली श्रमिक विदेश गइरहेकाले रेमिट्यान्स बढ्नसक्ने बताउनुभयो ।