समाचार

मकवानपुरमा डेङ्गुको प्रकोप बढ्दै



मकवानपुर, २१ साउन । हेटौंडा उपमहानगरपालिका वडा नं. ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ । यी चारै वटै वडामा करिब ४० जना डेङ्गुका सङ्क्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । अहिले डेङ्गुका बिरामीको चितवनको भरतपुर, काठमाडौं र हेटौंडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए ।

वडा नं. ४ र ५ को प्रत्येक टोलको घरमा लामखुट्टे नियन्त्रण गर्न अहिले स्प्रे गरिरहेको र घर वरपर जमेको पानी फ्याक्ने कार्य भइरहेको पनि उनले बताए । यसैगरी उक्त महाशाखाले प्रत्येक वडाको टोलमा डेङ्गु रोग पहिचानका लागि तथ्यांक सङ्कलन गर्न आगामी भदौको पहिलो हप्तादेखि स्वास्थ्यकर्मीहरुको टोली परिचालन गर्न लागिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए ।

डेङ्गु विरुद्धको औषधि तत्कालै आपूर्ति गरेर एक हप्ताभित्रै सङ्क्रमण फैलिएका क्षेत्रको विभिन्न घरमा छकर्ने तालिका मिलाइसकिएको पनि उनले जानकारी दिए । विगत डेढ वर्षअघि पनि वडा नं. ४, ५ र १० मा डेङ्गुका बिरामी फेला परेका थिए । रासस