राजनीति

माओवादीलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न सक्दैन : मन्त्री भुसाल



ललितपुर, २४ साउन । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवम् उर्जा,जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले आगामी चुनावबाट कम्युनिस्ट शक्ति भित्रको पहिलो बन्ने दाबी गरेकी छिन् ।

प्रेस सेन्टर नेपाल ललितपुरले आयोजना गरेको प्रेस सेन्टर केन्द्रका पदाधिकारीलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले माओवादी लेफ्ट भित्रको पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा गरिन । मंसिरमा हुने चुनावको मिति धेरै टाढा नभएकाले सीट बाँडफाँट र उम्मेदवार चयन छिटो सक्नुपर्ने भुसालको भनाई छ ।

भुसालले भनिन, ‘यो निर्वाचनमा अध्यक्ष प्रचण्डले भने जस्तै कम्युनिस्ट पार्टीहरूको पहिलो पार्टी र कम्युनिस्ट आन्दोलन भनेको माओवादी आन्दोलन हो भनेर पुष्टी गर्नेगरी शक्ति बन्ने छौ । त्यो कम्युनिस्टभित्रको पहिलो शक्ति स्थापित गर्न पार्टी नेता कार्यकर्ता र मिडियाको भूमिका हुनेछ । त्यसमा लाग्नुस् । यो बीचमा चाडबाड छ । हामी जहाँ जस्तो अवस्थामा भएपनि अब पूर्णकालीन प्रचार शक्तिको रुपमा मिडियाकर्मी जुट्नुपर्छ । काँग्रेस माओवादीसहित पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाने निर्णय भइसकेको छ । अध्यक्ष प्रचण्ड जापानबाट फर्किएपछि मूर्त रुप दिनेगरी छलफल हुनेछ । अब छिटोभन्दा छिटो चुनावी क्षेत्रको भागवण्डा गरेर चुनावमा होमिनुपर्छ । त्यसपछि उम्मेदवार चयन गरेर जनताको बीचमा जानुपर्छ ।’