काठमाडौँ, २५ साउन । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति वाग्मती, गण्डकी, लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र वाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्