राजनीति

गठबन्धन सरकार देशलाई विखण्डन गर्ने तत्व हो : भीम रावल



काठमाडौँ, २५ साउन । नेकपा एमालेका नेता डा. भीम रावलले वर्तमान पाँच दलीय गठबन्धनको सरकार नेपाललाई विशखण्डन गर्ने तत्व भएको आरोप लगाउनुभएको छ । अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व भएको उहाँले बताउनुभयो ।

बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडे तारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार संविधानमा उल्लेखित कानूनलाई बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागिपरेको भन्दै आक्रोस जनाउनुभयो । नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा नेपालको हितमा नरहेको उल्लेख गर्दै यो संविधान विपरित भएको उहाँको तर्क रहेको छ । हरेक देशमा विवाह हुनेबित्तिकै कोही पनि विदेशी नागरिकलाई देशको नागरिकता दिने प्रावधान नरहेको र नागरिकता प्राप्तिका लागि केही समय कुर्नुपर्ने स्थिति रहेको भन्दै नेपालले ल्याएको संशोधित नागरिकता विधेयकले देशकै नागरिकलाई अल्पमतमा पार्ने उहाँले दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले नागरिकताका बारेमा बारम्बार भनेका छौँ । देशभक्त नेपालीले नागरिकता पाउनुपर्छ । तर विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने भन्ने कुरा छ, त्यो हुनु हुँदैन । नागरिकता लिनलाई नेपालीसँग विवाह गर्ने महिलाले ७ वर्ष कुर्नुपर्छ भन्दा भारतविरोधी काम भयो भन्न मिल्छ ? हरेक देशमा यति वर्षपछि भन्ने त कानून छ । अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व हुन् । नागरिकताको बारेमा संविधानमा उल्लेखित गर्दा दिएको वचनबाट पछि हट्नु भनेको देशप्रतिको बेइमानी हो । संसारमा कुनैपनि देशले नागरिकतालाई खुकुलो बनाउँदैन । तर नेपाल यति धेरै ठूलो जनसंख्या भएका देशका बीचमा बसेर खुकुलो बनाइरहेको छ ।’

नेपालले आफ्ना सीमानामा नियमन गर्न आवश्यक रहेको समेत उल्लेख गर्दै नेता रावलले नेपालीहरुले अन्तर्राष्ट्रिय कानुनअनुसार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी रहेको धारणा राख्नुभयो । नेता रावलले सुस्ता, कालापानी, सन्दकपुर लगायतका देशका ७७ ठाउँमा सीमा अतिक्रमणमा परेको भन्दै बहुमतको बलियो सरकारले सीमा समस्याको समाधानका लागि भारतसँग छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल मात्रै यस्तो देश हो, जसले संसारका सबैभन्दा ठूला र सबैभन्दा बढी जनसंख्या भएको देशको बीचमा रहेर न सन्धिबाट तय भएको, न कुनै कानुनबाट तय भएको कुन बेलाको कुन शासकको सनकको भरमा हाम्रो सीमानालाई अन्तर्राष्ट्रिय कानून बमोजिम नियमन गरिएको छैन । हामीले नियमन गर्ने कुरा भारतप्रति द्वेष राखेको होइन । जसरी भारतले बंगलादेश सँगको सीमानालाई काँडेतार लगाएको छ, हामी नेपालीहरुले अन्तर्राष्ट्रिय कानुनअनुसार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी छ । सीमानाका सुस्ता, कालापानी, सन्दुकपुर अतिक्रमणमा परेको छ । ७७ भन्दा बढी ठाउँका सीमाना अतिक्रमणमा परेका छन् । हाम्रो सीमा समयमा नै नियमन नगर्ने हो भने मनमोहन नेतृत्वको सरकारले भारतसँग कतिपय कुरा समयानुसार हुनुपर्छ भनेर राख्दा भारतले स्वीकारेका थियो । तर मलाई आश्चर्य लाग्छ, २०५१/०५२ को नेकपा एमालेको अल्पमतको सरकारले त त्यति कुरा उठाएको थियो भने अहिले कति दल मिलेर बनेको बहुमतको सरकारले किन कुरा नउठाएको रु सीमानाको रक्षाका कुरामा किन बोल्दैनन् । उहाँहरु संवेदनशील हुनुहुन्न् । कालापानीमा विदेशी फौज आएर मातृभूमिको छातीमाथि बुलडोजर चलाउँदा किन नबोलेको रु’